नारीवादी चिन्तन र यसले उब्जाएका प्रश्नहरू

परापूर्वकालदेखि नै नारीवर्ग सधैँ पुरुषवादी हैकम अनि दास मनोवृत्तिको शिकार बन्दै आएका छन् । नारी जातिले सृष्टिको सुरुवाती कालखण्डदेखि नै आफ्ना हक अधिकार कुण्ठित बनाईदिने पित्तृसत्तात्मक समाजसँग पौँठेजोरी खेल्दै अघि बढ्नु परेको छ । वास्तवमा नारीवर्गलाई पुरुष सरह समान राजनीति, आर्थिक एवं सामाजिक अधिकारहरू र समान अवसरहरू जुटाउन नारीवादी सोच एवम् चिन्तनको प्रादुर्भाव भएको हो । नारीवादी सिद्धान्त विशेषतः नारी अधिकार र नारी जातिको स्वतन्त्रतासँग सम्बन्धित विषयवस्तु हो ।हाम्रा सामाजिक साँस्कृतिक मानकहरू र विभिन्न धार्मिक मूल्य एवम् मान्यताहरूले नै नारीजाति माथि विभेद गरेको पाइन्छ । धर्मशास्त्रहरुले समेत नारीजातिलाई कमजोर एवम् निरीह जीवका रूपमा देखाउन खोजेका छन् । यस किसिमका नकारात्मक चित्रणकै कारण निश्चय नै नारी जातिले एउटा बेग्लै पहिचान खोज्नुपर्ने भयो त्यस अनुरूप नारी जातिलाई एक छुट्टै शक्ति एक सबल रूपमा प्रस्तुत गर्नाका लागि नारीवादको उदय भएको हो ।

विश्वमा नारीवादको इतिहास त्यति पुरानो नभएता पनि अठारौं शताब्दीको अन्त्यतिर बेलायतकी मेरी उलस्टोनक्राफ्टलाई पहिलो नारीवादी लेखिका एवम् विचारकका रूपमा लिइन्छ । उनले आफ्ना ऊर्जाशील नारीवादी लेखहरू मार्फत् तात्कालीन पित्तृसत्तात्मक युरोपेली समाजको धज्जी उडाएकी थिइन् । त्यसपछि भने युरोपमा नारीलाई हेर्ने पुरूषवादी दृष्टिकोण केही हदसम्म लचिलो रह्यो । नारीवादी चिन्तनको मूलभूत उद्देश्य नारीको पहिचान मात्र रहेन । नारी जातिका नैसर्गिक अधिकार, प्रजनन अधिकार, सामाजिक एवम् राजनीतिक अधिकारको प्रत्याभूति पनि एकदम जरुरी थियो । यसैअनुरूप महिलालाई मतदानको अधिकार प्रदान गरियो एवम् नीति निर्माणका विभिन्न तह एवम् तप्कामा सामेल गराइयो जसका कारण नारीजातिलाई स्वाबलम्बी एवम् सशक्तीकृत बन्न थप टेवा पुग्यो ।

सन् १९६० को दशकमा विश्वमै विभिन्न बहस एवं विचारका क्षेत्रमा नारीवादी सिद्धान्तले प्रवेश पाउन थाल्यो । विशेषगरी प्रसिद्ध फ्रान्सेली अस्तित्ववादी नारी साहित्यकार सिमोन दी बोउवारले सन् १९४९ मा विश्वप्रसिद्ध पुस्तक “द सेकेण्ड सेक्स” लेखेपछि विश्वब्यापी नारीवादी बहसका क्षेत्रमा नै सनसनी मच्चियो । यस पुस्तकमा उनले नारीवर्गलाई इतिहासका प्राचीन कालखण्डदेखि नै ‘अन्यत्र लिङ्ग’ अथवा ‘दोश्रो लिङ्ग’ का रूपमा हेरिएको कुरालाई विरोध गर्नुका साथै सम्पूर्ण नारीजातिलाई पुरातनवादी पितृसत्तात्मक समाजका विरुद्ध उभिन अपील गरिन् । कालान्तरमा यस पुस्तकले विश्वब्यापी नारी आन्दोलनमा अहम् भूमिका खेलेको पाइन्छ । सिमोन दी बोउवारले विभिन्न धर्म, सँस्कृति र प्राचीन मिथकहरूको उदाहरण दिँदै नारी जातिमाथि गरिएका नकारात्मक चित्रणको खुलेर विरोध गरेकी छन् ।नारीवर्ग सशक्त नबनेसम्म समतामूलक समाजको निर्माण एउटा दिवास्वप्न मात्र रहन्छ । नारी जाति त्यतिबेला सशक्त बन्दछन् जतिबेला हरेक किसिमका शोषण, दमन अनि थिचोमिचोबाट उनीहरु मुक्त रहन सक्दछन् । नारीवर्गलाई स्वतन्त्रता प्रदान गर्न एवम् तिनका अधिकारहरुको पहिचानका साथै सुनिश्चत गराउन नारीवादी सोच एवम् चिन्तनको आवश्यकता पर्दछ । इतिहास साक्षी छ, नारीवर्गको सर्वोपरि हित हुन नसक्नुमा पुरातनवादी ढर्रा एवम् पितृसत्तात्मक सोचले ग्रसित हाम्रो समाज शतप्रतिशत जिम्मेवार छ ।

एकातर्फ हाम्रा धर्म एवम् दर्शनहरू पनि नारीप्रति पूर्वाग्रही ढंगले उभिएका छन् । एकाध धर्म बाहेक सम्पूर्ण धर्महरूले महिलालाई सदैव कमजोर एवम् निरीह प्राणीका रूपमा चित्रित गरेका छन् । क्रिश्चियन एवम् हिन्दूधर्ममा समेत नारी वर्गलाई पुरुषभन्दा कैंयौ गुणा कमजोर एवम् निरीह जीवका रुपमा चित्रण गरिएको छ । पुरुषवर्गकै सानो अङ्गबाट नारीको उत्पत्ति भएको भन्ने ढाँचाका प्राचीन एवम् पौराणिक कथाहरुले नारीवर्ग कमजोर एवम् निरीह हुन भन्ने सोचलाई अझै बढावा दिएको छ । यस किसिमका मान्यताहरु नारी जातिलाई निरीह बनाउन हरदम जिम्मेवार छन् ।हाम्रो समाज यस्तै संकीर्ण मानसिकताबाट उम्कन सकेको छैन जहाँ नारी जातिलाई एकजोर एवम् तल्लो दर्जा र तप्कामा राखेर हेरिन्छ ।

समान अवसर र योग्यता पाए नारीले पुरुषभन्दा बढी उपलब्धि हासिल गर्न सक्छन् भन्ने यथार्थमा हामी आँखा चिम्लिरहेका छौं । हामी यो सत्यलाई स्वीकार्न सकिरहेका छैनौं किनकी हाम्रो स्नायुमा उही पुरातनवादी पितृसत्तात्मक सोचाइको सञ्चार भइरहेको छ । के हाम्रा दिदीबहिनीहरू फ्लोरेन्स नाइटिङ्गेल बन्न सक्दैनन् ? के उनीहरुमा हेलेन केलरको जस्तो आँट छैन ? के उनीहरु मदर टेरेसाझँै सेवाभाव बोकी हिँड्न सक्दैनन् र ? के मार्गरेट थ्याचरझैँ राजनैतिक चेतनाले युक्त छैनन् उनीहरु ? अवश्य, उनीहरू यी सम्पूर्ण सोच र गुणले युक्त छन् । मात्र कमी छ समान व्यवहार, अवसर, सोच एवम् सहभागिताको । पित्तृसत्तात्मक समाज समातारूपी सोचले अघि नबढेसम्म नारीवादी चिन्तन र सोच पुस्तकका ठेलीहरुमा सीमित रहनेछन् । अन्ततः नारीको सर्वोपरि हितमा उब्जिएका प्रश्नहरू अनुत्तरित भइरहनेछन् ।