गजल

-गणेश कार्की
खोज्दै जाँदा कहाँ रोकिने, गुणमा कि अवगुणमा?
पत्याउँथ्यो रे रावणले, शंकालु त श्रीराम धेरै ।।
स्यालको कर्कश आवाज, रात भन्दा बिहान धेरै
फेरि नहोस् यस्तो कहिलै, पिर्का भन्दा चिहान धेरै ।

स्यालको कर्कश आवाज, रात भन्दा बिहान धेरै
फेरि नहोस् यस्तो कहिलै, पिर्का भन्दा चिहान धेरै ।

खोज्दै जाँदा कहाँ रोकिने, गुणमा कि अवगुणमा ?
पत्याउँथ्यो रे रावणले, शंकालु त श्रीराम धेरै ।।

टुक्राएर पुर्णलाई, अंश–अंशमा के सत्य खोज्छौ
धर्म एक, मान्छे एक, झुक्याउँने त सर्वनाम धेरै ।

मन मिले जहाँ पुगिएला, के हिमाल ? के तराई ?
भाडिए मन, लक्ष्य शुन्य, गति भन्दा बिराम धेरै ।।

गजल

जुन देखाई जुन भने, तिमी घाम भन्दै कस्सियौ
हार भो पक्का–पक्की, अनि तथानाम भन्दै कस्सियौ ।

सा¥है नै रहर ग¥यौ, डाँडा गई सुर्याेदय हेर्ने
भर्खर भाले बास्दै थियो, घर जाम भन्दै कस्सियौ ।।



सादा खाम भित्र पैसा आयो, पैसा तिम्रो खाम मेरो
दुई दिनमै पैसा सकि, खोइ खाम भन्दै कस्सियौ ।

आफै आयौ, हात समायौ, मैले अनि छोड्न मानिन
आँखा रिसले रातो पार्दै, छलछाम भन्दै कस्सियौ ।।

गजल

मेरो कथा के सुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ”
मनमा खै के गुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ” !

बिना संकोच पात झार्ने, पिपलको रुख जस्ती तिमी
पात मलाई चुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ” !!



छोडिनुको पीडा थाहा पाउँछौ, माया गर कसैलाई
समा’को हात छोड्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ” !

बेग्ला–बेग्लै बाँचेर हामी, के ‘किरण’ हास्न सक्छ ठान्छौ ?
खुसीको मुल थुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ” !!
(समर्पण मेरो साथी ‘किरण भट्टराई’ प्रति ।)

गजल

-गणेश कार्की

म छु सँगै तिमी छौ अनि मेरा रहरहरु ज्यूदा छन्
बग्दछ माया यत्र तत्र, नदि नहर हरु ज्यूदा छन् ।

अभावमा तिम्रो साथ पाएँ, सुखमा पनि तिमी खोज्छु
आशा छन्, सयौं सपना छन्, अनि प्रहरहरु ज्यूदा छन् ।।

बढ्छ रे दुरता, राशी मिल्दैन ग्रहले दुख दिन्छ रे
पिडा–आँशु हुन्छ मान्छेमा, र त जहरहरु ज्यूदा छन् ।

अकाट्य के छ संसारमा ? ज्ञान फेरिए, सत्य फेरिए
छुट्छन् फेरि मिल्छन्, सागरमा लहरहरु ज्यूदा छन् ।।

गजल

खोली रहु बन्द ओठ, कुरा तिम्रा मिठा कति
हासो तिम्रो सँधै उस्तै, कति सहि झुटा कति ।

छिटो–छिटो बोल्ने हुँदा कति कुरा गल्ति हुन्छन्
तुरुन्तै ठिक्क पार्ने, खप्पिस ओठ छिटा कति ।।

तिमी नि लजायौ, आँखा पर्दा तिमीमा कसैका
छ्रैनौं निर्धक्क? तिमीमा नजरका बिटा कति ।

सबैको तिमीलाई आफ्नो बनाउँने रहर
जाँच हरेकलाई, कति उज्याला रिठा कति ।।

जीवन एउटा पानीको फोका (अस्कलको सम्झना)

मलाई लाग्दैछ दैनिकी लेख्नु बेकार छ, खास गरि मेरो स्तरको जीवनमा, मेरो ढाँचाको जीवनमा । यी कुराहरु जसलाई म आफ्नो डायरीमा सार्दैछु ( हो त जीवनबाट डायरीमा ) । यी कुराहरुको जिन्दगीसँग के सरोकार होला ? यी कुराहरु दो¥याएर पढ्ने फुर्सद मसँग पछि रहला–नरहला ( चामलको भाउ बढेको बढयै छ ) न त यी कसैका लागि प्रेरणा बन्न सक्छन्, न त यसले कुनै किसिमको अर्थ बोक्न सक्छन् । अल्छि दिमाग यो पढे पछि पनि अल्छि नै होला, रिसाहा रिसाहा नै । कसैमाथी बेअसर छ भन्ने जान्दा–जान्दै पनि लेख्न बस्नु बेफकुपी नै होला । कहिलेकाही बेफकुपी पनि रमाइलै हुन्छ ।
हरेक दिन ज्ञानेश्वरबाट बागबजार ट्युसन पढ्न जान्छु भनेर लेख्नुमा के अर्थ भेटिएला र ? ( त्यो पनि पैदल )

हरेक दिन ट्युसन पछि क्याम्पस फेरि हिड्दै जान्छु भनेर लेख्नुमा पनि त अर्थ छैन । क्याफेमा बसेर चिया पिएको कुराले जीवन असर पार्दाे हो त ?
सब बेकार छ, बेअसर कुराहरु । खाली दिन कट्यो भनेर जनाउँने सुचकहरु ।
आज हाम्रो टोली, म बाहेक काभ्रे पुग्यो नबेको दाइको बिबाहमा, बिहान भरि पुरानो बसपार्कमा मलाई पर्खिएर । म नगएको झ्वाकमा खुब गाली गरे होलान् । “कुकुर के आउँथ्यो कुरायो मात्रै” कर्मठले भन्यो होला । “फोन गरेर भनेको भए पनि हुने नि” प्रेमले बोल्यो कि । “ढिलो नगरौ चाँडै जाँउ, भ्याइयो भने भरे नै फर्किनु पर्छ” दिवश वा राजु बोले होलान् । ज्याकेटका गोजीबाट हातै ननिकाली चन्द्रे (बान्द्रे) बोल्यो होला, “भाडा चै मसँग छैन है ।”
“उनीहरु चै भोजमा मस्त, हामी चै चिसोमा ? हिँड जाँउ घाम ताप्न, यँहा स्नेहाहरु बस्दै गर्छन् ।” शान्ताले भनि । आजभोली क्याम्पसमा कामको चटारो छ, शुशिला, कृपा, सुमिताहरु सबै लागिपरेका छन् । शैक्षिक भ्रमणका लागि पैसा जम्मा गर्न अनेक कार्यक्रमहरुको तयारी चल्दैछ । तर जे होस् हाम्रो क्लासमा एकता छ । हरेकको खबर हरेकलाई थाहा हुन्छ ।
घरि–घरि किरण आउँछ र, दोहोरीकै तालमा कराउँछ, “केटाहरुको खर्चै ज्यादा । पेट्रोल र खाजामा त कति–कति ।” किरणदाई मह काड्नेले हात त चाटिहाल्छ नि हैन ?
यी केहि कुराको अर्थ छैन । अर्थहिन सम्वादहरु आजका दिनका । केटाहरुले मलाई कुर्नु, शान्ता र म दर्तामा बस्नु, शुशिलाले क्लास छाडेर पेपर काट्नु, किरणका गफ केहि अर्थ छैन । ज्यादा भन्दा ज्यादा भोली सम्म याद रहला पर्सि देखि सबै खलास् ।
दिनहरुले बर्ष बन्छ र, त्यही केहि बर्षको हाम्रो जीवन । एउटा दिन निरर्थक बित्यो, यसै गरि बर्ष बित्छ । के हाम्रो जीवन पनि यस्तै त होईन ? मोबाईलमा फोटो डिलीट गरे जस्तो । भोली अर्को खिचिन्छ आजको डिलिट हुनुमा किन गुनासो ?

आजको दिनको अध्ययन पछि मलाई लाग्यो हाम्रो जीवन कुनै असरदार चिज बन्न सकिरहेको छैन वा सकेन । आज हामीले भरेको ठाउ भोली खाली हुन्छ र, पर्सि कसैले त्यो खाली पनि भरिदिन्छ । खै त्यसपछिको हाम्रो नाम? खै हाम्रो अस्तित्व ? अहिलेसम्म एउटा यस्तो काम गर्न सकिएको छैन, जो कसैका लागि गुन बनोस्, कसैका लागि नासो या क्रण बनोस् । केहि त फरक परोस हामी हुनुमा र नहुनुमा । केहि त अर्थ बोकोस् हाम्रो जीवनले । म फगत पानीको फोका बन्न चाहन्न ।

एकेडेमीमा राखेका किताब जस्तो अवमुल्यन नहोस् जीन्दगीको । बस् यत्ति, सम्झिने कोही हुन्, सम्झाउने कोही ।

गजल

-गणेश कार्की

तिमी जुन झैं छदै छौ, म दाग भएरै बाँचुला
तिमी बेल लटरम्म, म काग भएरै बाँचुला ।


डसेर घाउ दियौ, माया होला भनी सम्झिरहे
भन्छौ ऐले तिम्ले डस्यौ, लौ नाग भएरै बाँचुला ।।


आँखामा राखेको थिएँ, अहिले मात्र आँशु बाँकी

अझै ठान्छौ म बिझाएँ, लौ राग भएरै बाँचुला ।

तिमीले जोड्यौ अन्तै नाता, तिमी दुई म एक
गुणा होस् खुसी तिम्रो, म भाग भएरै बाँचुला ।।